हेलिकोप्टरबाट उद्दार गरिएकी सुत्केरीको काठमाण्डुमा मृत्यु

रासस २०७७ जेठ १० गते १५:०२ मा प्रकाशित

संखुवासभा, १० जेठ– थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ ।

उपचारका क्रममा काठमाण्डुस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति १०ः३० बजे उनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए ।

नवजात शिशु गुमाएकी ३२ वर्षीया उनीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार ४ बजे काठमाण्डु लगिएको थियो । उनीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि प्रसूति गृह लगिएको थियो । सो अस्पताल प्रसूति तथा स्त्रीरोग सेवाका लागि केन्द्रीय विशेषज्ञ अस्पतालको रुपमा रहेको छ ।

उनलाई गत चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो । चिकित्सकले शिशु अप्ठ्यारो गरेर बसेको पत्ता लगाएपछि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो । सो अस्पतालमा मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन् । त्यहाँ उनका परिवारले दुई लाखभन्दा बढी खर्च गरेका जनाइएको छ । अस्पतालमा थप शुःल्क तिर्न नसकेपछि उनलाई घर फर्काएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us