काठमाण्डु, ६ मंसिर– नेकपा माओवादीको संस्थापन पक्ष असन्तुष्ट सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहित उनी पक्षधर नेता कार्यकर्तामाथि गरिएको कारबाही फिर्ता लिन तयार भएको छ ।
अध्यक्ष मोहन वैद्य र सचिव चन्दीबीच शनिबार साँझ भएको गोप्य भेटमा वैद्यले चन्द र पोलिट्ब्युरो सदस्य खड्गबहादुर विकसँग केन्द्रीय समितिले मागेको स्पष्टीकरण फिर्ता लिन सहमत भएका हुन् ।
कपिल्वस्तुको शिवनगढी जंगलमा गत कात्तिक २६ र २७ गते छुट्टै भेला गरेको भन्दै चन्द र विकसँग संस्थापन पक्षको केन्द्रीय समिति बैठकले उनीहरुसँग लिखित स्पष्टीकरण मागेको थियो ।
योसँग चन्द पक्ष केन्द्रीय समितिको विस्तारित बैठकमा सहभागी हुन तयार भएको छ ।
आफूहरुसँग सोधिएको स्पष्टीकरणको निर्णय फिर्ता लिएर अध्यक्ष वैद्य र महासचिव रामबहादुर थापाले आत्मालोचना गर्नुपर्ने अडान राख्दै चन्द पक्षले शनिबार विस्तारित बैठक बहिस्कार गरेको थियो ।
असन्तुष्ट पक्षलाई समेत सहमतिमा ल्याउने भन्दै आइतबार सम्मका लागि बैठक स्थगित गरेर वैद्य चन्दसँग छलफल गर्न गएका थिए ।
चन्द पक्षीय केन्द्रीय सदस्य झकबहादुर मल्लले संस्थाप पक्ष स्पष्टीकरणको निर्णय फिर्ता लिन तयार भएकाले आइतबारको विस्तारित बैठकमा आफूहरु सहभागी हुने काठमाण्डु टुडेलाई जानकारी दिए ।
‘संस्थापन पक्ष हामीमाथिको कारबाही फिर्ता लिन तयार भएकाले आइतबार बैठकमा जान्छौं’, मल्लले भने, ‘बैठकमै गएर आफ्ना कुरा राख्छौं ।’