काठमाण्डु, ६ मंसिर– सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काँग्रेस–एमालेले आफूहरुको सहमतिबिना गणितीय आधारमा संविधान जारी गरे च्यातचुत पारेर फाल्ने बताएका छन् ।
२२ दलीय मोर्चाको आन्दोलन तयारीका सिलसिलामा भैरहवा पुगेका महतोले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै बहमुतले संविधान ल्याइए त्यही दिन जलाउने चेतावनी दिएका हुन् ।
काँग्रेस–एमाले ०४७ सालमै संविधान ब्युँताएर मुलुकलाई परिवर्तनबाट पछि धकेल्ने षड्यन्त्रमा लागेको उनको आरोप थियो ।
‘काँग्रेस र एमाले ०४७ सालको संविधान ब्युँताउने षड्यन्त्रमा लागेका छन्’, महतोले भने, ‘गणितीय आधारमा पेलेर संविधान बनाइए त्यही दिन जलाउँछौं ।’
महतोले काँग्रेस–एमाले सहमतिमा संविधान जारी गर्न तयार नभए सार्क सम्मेलनपछि आन्दोलनको आँधिबेहरी ल्याउने बताए । अर्को एक फरक प्रसंगमा उनले सत्ताभन्दा संविधान आफूहरुको प्राथमिकतामा रहेको दाबी गरे ।