
काठमाण्डु, ६ मंसिर– राष्ट्रिय मानव अधिकार आयोगले विदेश गएका श्रीमानका कारण नेपालमा महिलाहरुले आत्महत्या गर्ने गरेको जनाएको छ ।
आयोग सदस्य मोहना अन्सारीका अनुसार विदेश गएका श्रीमानले श्रीमतीको चरित्रमा प्रश्न उठाउने गरेका कारण आत्महत्याका घटना बढेको बताइन् ।
आयोग टोलीले पूर्वका खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र रामेछाप भ्रमणबाट संकलन गरेको स्थलगत रिपोर्टले त्यस्तो देखाएको हो ।
विदेश गएका श्रीमानले श्रीमतीलाई नेपालमा परपुरुषसँग हिंड्ने गरेको आरोप लगाउने गरेको र त्यस्तो आरोप खप्न नसकेर महिलाहरुले आत्महत्याको बाटो रोज्ने गरेको प्रतिवेदनको निष्कर्ष छ ।
‘महिलाले आत्महत्या गर्नुको मूल कारणमा वैदेशिक रोजगारीमा रहेका श्रीमानले श्रीमतीलाई आर्थिक हिनामिनाको आरोप र चारित्रिक लाञ्छना लगाउनेजस्ता पक्षहरु पाइयो’, प्रतिवेदनमा भनिएको छ ।