काठमाण्डु, ६ मंसिर– मंसिर १० देखि ११ गतेसम्म हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औँ शिखर सम्मेलनका लागि निजी सञ्चारमाध्यमका फोटो पत्रकार र टेलिभिजनका क्यामरापर्सनलाई मुख्य आयोजनास्थल राष्ट्रिय सभागृहमा प्रवेशको व्यवस्था गर्न नेपाल पत्रकार महासंघले सरकारसँग माग गरेको छ ।
शिखर सम्मेलनका अवसरमा हुने उद्घाटन, राष्ट्र प्रमुख एवं सरकार प्रमुखको सम्बोधनलगायत कार्यक्रममा स्वतन्त्र प्रेसको सम्मान गर्दै समाचार र तस्बिर संकलन तथा छायांकनका लागि सहज व्यवस्था मिलाउन महासंघले सरकारसँग आग्रह गरेको छ ।
स्वतन्त्र प्रेसलाई सम्मेलन स्थलमा प्रवेश गराउनु पर्ने विषयमा यसअघि नै महासंघका अध्यक्ष डा. महेन्द्र विष्टसहितका पदाधिकारीले सूचना तथा सञ्चारमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराइसकेका छन् । रासस