सुशीलले मोदीलाई फोन गरेर भने, ‘तपाईंको भ्रमण स्थगित भएको हल्लाबारे माफ पाउँ’

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते १३:०९ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

modi-sushil
सरकारका विभिन्न निकायबीच मोदीले गर्ने भनिएको राजधानीबाहिरको भ्रमण स्थगन भएको विषयमा फरकफरक धारणा आइरहेका बेला कोइराला र मोदीबीच फोनावार्ता भएको हो ।

त्यस क्रममा प्रधानमन्त्री कोइरालाले जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण तालिकामा हेरफेर भए/नभएकोबारे जानकारी मागेका थिए ।

श्रोतका अुनसार जवाफमा मोदीले जनकपुरमा कार्यक्रम स्थलबारे स्थानीय राजनीतिक दलबीच विवाद भएपछि आफूलाई त्यहाँ नजान कर्मचारीले सुझाए पनि भ्रमण गर्ने चाहना यथावत रहेको बताएका छन् ।

उनले भ्रमण स्थगन भएको भन्दै सरकारका मन्त्रीबाटै विज्ञप्ति जारी भएकामा असन्तुष्टि जनाएको बुझिएको छ । त्यस सम्बन्धमा प्रधानमन्त्री कोइरालाले समन्वय अभावमा गल्ती भएको भन्दै माफी मागेका छन् ।

प्रधानमन्त्रीले तिर्थस्थल भ्रमणका बेला सुरक्षा व्यवस्था प्रभावकारी बनाइएकाले चिन्ता नगर्न मोदीलाई आग्रह गरेका थिए ।
मेदी भ्रमणको व्यवस्थापनमा खटिएका भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिले भारतीय पक्षको हवाला दिँदै बिहीबार विज्ञप्ति जारी गरी मोदी भ्रमण स्थगन भएको जनाएका थिए ।

यसैबीच प्रधानमन्त्री कोइरालाले ‘बाठो भएर विज्ञप्ति जारी गरेको’ भन्दै मन्त्री निधिको सातो खाएका छन् । ‘तपाईंलाई बाठो भएर नचाहिंदो कुरा किन गर्नुपर्‍यो ?’ कोइरालाको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘तपाईंका कारण नेपालको कुटनीतिक बेइज्जति भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us