जनकपुर, ५ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको विरोधमा एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले जनकपुर बन्द आह्वान गरेको छ ।
बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन, बजार–पसल र शिक्षण संस्था बिहानैदेखि ठप्प छन् ।
बन्दकर्ताले सहरका चोकचोकमा जम्मा भएर प्रधानमन्त्री सुशी कोइराला, उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।
उनीहरुले कोइराला, गौतम र निधिको पुत्लासमेत जलाएका छन् । बन्दको नेतृत्व गरेका एकीकृत माओवादी नेता रामचन्द्र झाले सरकारको नालायकीपनका कारण मोदी भ्रमण स्थगन भएको भन्दै आफूहरुमाथि दोषरोपण गरिएकामा आपत्ति जनाए ।
‘सरकारको गैरजिम्मेवार र नालायकी पनका कारण मोदीको भ्रमण स्थगित भएको हो’, झाले भने, ‘उल्टै हामीमाथि दोषारोपण गरेर उम्कने प्रयास भइरहेको छ ।’
मोदी भ्रमण रोकिनुमा सबैभन्दा बढी दोषी मन्त्री निधि भएको आरोप उनले लगाए । आफूहरुले बाह्रबिघामा मोदीको अभिनन्दन र सम्बोधन हुनुपर्ने माग गरेको तर भ्रमण रद्द गर्न कुनै दबाब नदिएको उनले प्रष्ट्याए ।
मेदी भ्रमणको व्यवस्थापनको जिम्मेवारी पाएका निधिले बिहीबार अचानक विज्ञप्ति जारी गर्दै एमाओवादी र मधेसी दलको गैरजिम्मेवारपूर्ण व्यवहारका कारण मोदीको जनकपुर भ्रमण स्थगन भएको बताएका थिए ।