तीन सय आँखा रोगीको निःशुल्क उपचार

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते १:२९ मा प्रकाशित

कञ्चनपुर, ५ मंसिर– जिल्लाको पिपलाडीमा बिहीबार सञ्चालन भएको निःशुल्क आँखा  शिविरमा ३०० जनाको उपचार गरिएको छ ।

गेटा आँखा अस्पताल र पिपलाडी स्वास्थ्य चौकीको संयुक्त आयोजनामा भएको  शिविरमा आएकामध्ये ५० जना मोतियाविन्दु भएकालाई निःशुल्क शल्यक्रियाका लागि महेन्द्रनगरस्थित आँखा उपचार केन्द्रमा सिफारिस गरिएको पिपलाडी स्वास्थ्य चौकीका प्रमुख रतनबहादुर बिष्टले बताए ।

शिविरमा पुगेकामध्ये १५ जना बालबालिकामा सरसफाइको कमीले हुने ट्रकोमाको समस्या देखापरेको र ती बालबालिकालाई निःशुल्क औषधि उपलब्ध गराएको जानकारी उनले दिए ।

‘अन्य बिरामीमा आँखा पोल्ने, चिलाउने, रातो हुने, पानी बग्नेलगायतको समस्या देखिएको छ’, उनले भने, ‘आँखामा सामान्य सङ्क्रमण भएका सबैलाई शिविरमा संलग्न नेत्र चिकित्सकले परामर्श र औषधि उपलब्ध गराएका थिए ।’ रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us