सरकारी कार्यालय पुनस्थापना नहुँदा समस्या

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते २:४७ मा प्रकाशित

भीमदत्तनगर, ३ मंसिर– दार्चुलामा बाढीले बगाउँदा विस्थापित बनेका सरकारी कार्यालय पुन:स्थापना नहुँदा सेवाग्राही मारमा परेका छन् । बाढीले बगाएको डेढ वर्ष बितिसक्दासमेत कार्यालय पुन:स्थापना नहुँदा सेवाग्राही मारमा परेका हुन् । केही सरकारी कार्यालय भाडाका घरमा सञ्चालन भइरहे पनि गुणस्तरीय सेवा भने नपाएको सेवाग्राहीको गुनासो छ ।

कार्यलयको आफ्नै भवन नहुँदा विभिन्न प्रशासनिक तथा लेखाको काम प्रभावित भएकाले भवन निर्माणका लागि प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी आनन्दराज पोखरेलले बताए । यस्तै कतिपय कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहाँदा झनै समस्या सिर्जना भएको छ । दार्चुलाका आधा दर्जनभन्दा बढी सरकारी कार्यालय बाढीले बगाएकाले अहिले भाडाका घरमा सञ्चालन हुँदै आएका छन् ।

यसैगरी बाढीले बगाएको दार्चुला–तिंकर सडकखण्डको बांगाबगड क्षेत्रको सडक पुन:निर्माणको काम सुरु हुने भएको छ । सडक पुन:निर्माण नहुँदा महाकालीको किनारमा बन्न लागेको पक्की तटबन्ध निर्माणको काम सुरु गर्न समस्या भएकाले सडक पुन:निर्माणको कार्य गरिने भएको हो ।

बांगाबगड क्षेत्रको पुन: निर्माणको जिम्मेवारी लिएका नरसिंह गोल्डेन निर्माण कम्पनीका ठेकेदार नरसिंह धामीले ट्रयाक खोल्ने काम सुरु गरिने र साथै दार्चुला–तिंकर सडकखण्डको राताकाठा भिरमा सुस्त गतिमा भइरहेको निर्माण कार्यलाई समेत तीव्रता दिने बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us