काठमाण्डु, २ मंसिर– पार्टी विभाजनको संघारमा पुगेका बेला नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य र असन्तुष्ट सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच
भेटवार्ता भएको छ ।
अध्यक्ष वैद्यलाई भेट्न चन्द मंगलबार साँझ पार्टी केन्द्रीय कार्यालय बुद्धनगर पुगेका थिए । करिब तीन घण्टाससम्म भएको भेटमा अध्यक्ष वैद्यले पार्टीको संस्थागत निर्णय र विधानविपरीतका गतिविधि रोक्न चन्दलाई निर्देशन दिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
वैद्यले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने अवस्थामा समानान्तर गतिविधि गरेर पार्टी एकता कमजोर नपार्न भनेका थिए । जवाफमा चन्दले एमाओवादीसँग अलग भएको दुई वर्ष बित्दासमेत मुल नेतृत्व स्पष्ट कार्यदिशा र कार्यक्रम दिन असफल भएकाले आफूले अलग्गै कार्यक्रम तय गरेको बताएको बुझिएको छ ।
चन्दले क्रान्तिका लागि पार्टी विभाजन गरिएको स्मरण गराउँदै तत्काल क्रान्तिका लागि तयार रहनसमेत आग्रह गरेका थिए ।
चन्द पक्षले कपिलवस्तुको शिवगढी जंगलमा गत कात्तिक २६ र २७ गते छुट्टै भेला गरी सशस्त्र युद्धको तयारीमा जुट्ने निर्णय गरेको थियो ।