विप्लवको योजनामा पूर्वलडाकुले बैंक लुटेको आशंका

काठमाण्डु टुडे २०७१ मंसिर २ गते १३:२५ मा प्रकाशित

biplavरौतहट, २ मंसिर– रौतहटको चन्द्रनिगाहपुरस्थित एसबीआई बैंकबाट झिकिएको २० लाख रुपैयाँ लुट्ने कार्यमा माओवादी पूर्वलडाकु संलग्न रहेको खुलेको छ ।
पैसा झिकेर निस्कँदै गर्दा चन्द्रनिगापुरमै रहेको इन्फ्रास्टक्चर बैंकका सुरक्षा गार्डमाथि गोली प्रहार गरी लुटेर समूहले मंगलबार रकम लुटेको थियो । पिछा गर्दै गएका प्रहरी र लुटेरा समूहबीच रौतहतको पूर्वी क्षेत्र चाँदीपुरमा दोहोरो भिडन्त भएको थियो ।

त्यस क्रममा लुटपाटमा संलग्न पूर्वलडाकु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली पिपलमाडी–१ का अन्दाजी २८ वर्षीय नारायण राई रहेको डिएसपी भीम ढकालले काठमाण्डु टुडेलाई जानकारी दिए । राईको पेटमा गोली लागेको छ ।

गम्भीर घाइते उनको वीरगञ्जमा उपचार भइरहेको छ । घटनामा संलग्न अरु तीनजना फरार रहेको र उनीहरु पनि प्रहरीको घेराबन्दीमा परिसकेकाले छिट्टै पक्राउ पर्ने ढकालले बताए ।

भिडन्त स्थलबाट प्रहरीले लुटपाटमा संलग्न दुईवटा मोटरसाइकल समेत बरामद गरेको छ । यसैबीच घटनामा संलग्न राई कपिलवस्तुको शिवगढी जंगलमा छुट्टै भेला गरी सशस्त्र युद्ध थाल्ने निर्णय गरेको नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द पक्षका कार्यकर्ता भएको आशंका गरेको छ ।

विप्लवले बुटवलमा पत्रकार सम्मेलन गरी सशस्त्र युद्धमा जान सक्ने चेतावनी दिएलगत्तै उनकै योजनामा बैंक लुटिएको हुन सक्ने अनुमान प्रहरीको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us