
काठमाण्डु, २ मंसिर– प्रहरीले बैंकिङ कसुर अभियोगमा हामा मर्चेन्ट एण्ड बैंकिङ फाइनान्सका तत्कालीन महाप्रबन्धक रवि भूषण वैद्यसहित पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार वैद्यसहित धितो मुल्यांकनकर्ता शोभेनराज जोशी, जमानीकर्ता तथा कर्जा प्रयोगकर्ता सचिनकुमार सुनुवार, ऋणी तिलकबहादुर सुनुवार र ऋणी राजेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई बैकिङ कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरुले संस्थालाई ७ करोड ६० लाख ९९ हजार २३ रुपैयाँ नोक्सानी गरेको ठहर छ ।
उनीहरुले ऋणीहरुको मिलोमतोमा कम्पनीको कोष र कर्जाको दुरुपयोग गरेको, कर्जा स्वीकृत सीमाको दुरुपयोग गरेको, धितोको अधिक मुल्यांकन गराएको, कर्जाको रकम परियोजनामा खर्च नगरी दुरुपयोग गरेको, एकै धितोबाट विभिन्न व्यक्तिहरुको नाममा छुट्टा/छुट्टै कर्जा प्रवाह गरी बैंकिङ कसुर गरेको प्रहरीले जनाएको छ ।
सोही कसुरमा जनरल फाइनान्सका तत्कालिन महाप्रबन्धकसमेत रहेका हामा मर्चेन्टका तत्कालिन कर्जा प्रमुख राजुकुमार प्रधान समेतलाई प्रहरीले पक्राउ गरेको छ ।
फाईनान्सले राजुकुमार प्रधान र सचिन के सुनुवारसमेतले अनियमित तरिकाले गुड फर पेमेन्ट चेक जारी गरी तथा विभिन्न व्यक्तिको नाममा प्रवाह भएको कर्जा दुरुपयोग गरी ७ करोड ८२ लाख ५४ हजार ९ सय ७९ रुपैयाँ नोक्सानी पुर्यारएको दाबी गर्दै उजुरी दिएको थियो ।