काठमाण्डु, २ मंसिर– नेपाली काग्रेसका नेता रमेश लेखकले एकीकृत नेकपा (माओवादी) को नियत नै ठीक नभएकाले समस्या उत्पन्न भएको दाबी गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै लेखकले संवाद समितिमा भएका सहमति र असहमति सबै प्रस्तावलाई सोही रुपमा संविधानसभामा पठाउनु पर्ने भन्दै त्यसो नगर्नु एमाओवादीको राजनीतिक बेइमानी भएको टिप्पणी गरे ।
कार्यक्रममा सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले काग्रेस एमालेको साझा भनिएको प्रस्ताव गोजीबाट झिकिएको कागजको टुक्रा मात्रै भएको दाबी गरे । उनले संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले रद्दीको बोरामाा हालिदिए हुने जिकिर गरे ।
नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले दुबै पक्षले आ–आफ्नो अडान छाडेर दलीय स्वार्थभन्दा माथि उठेर समस्याको समाधान खोज्नु पर्ने भन्दै काग्रेस र एमालेको साझा प्रस्तावलाई संविधानसभामा पठाउनु पर्ने तर्क गरे ।
कार्यक्रममा एमाओवादी सभासद एवम् कानुनविद रामनारायण विडारी, संविधानविद् भीमार्जुन आचार्य र बारका पूर्व उपाध्यक्ष शेरबहादुर केसीले पनि बोलेका थिए ।