इलाम, २ मंसिर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाई बहुमत लाेकतान्त्रिक शक्तिसँग भएकाले प्रक्रियाबाटै माघ ८ मा संविधान जारी हुने दावी गरेका छन् । एमाअाेवादीले प्रक्रियामा जान नमाने पनि प्रक्रियाबाटै संविधान ल्याउने चेतावनी दिए ।
एमालेकाे नवौं जिल्ला अधिवेशन उद्घाटन गर्ने क्रममा इलाम पुगेका ओलीले विभिन्न बहानामा संविधान बनाउन नदिने खेल भइरहेपनि संविधान जारी हुने विश्वास दिलाए ।
‘सबै दलको सहमति जुटे वा नजुटे पनि संविधान आउँछ,’ उनले भने-‘दुवै स्थितिमा प्रक्रियामा प्रवेश गर्नैपर्छ । विधि, प्रकृया र मान्यतालाई सबैले स्विकार गर्नुपर्छ ।’ उनले संख्यामा धेरै र जातीय आधारको प्रदेश निर्धारण हुन नसक्ने बताए ।
मूलुकलाई विकासको गतिमा लैजान समयमा संविधान निर्माण गरेर राजनीतिक गतिरोध हटाउनु पर्ने उनको भनाई थियो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२ दलीय मोर्चाको नाममा देश दौडाहा गरेर देशलाई थप अस्थिरतातर्फ धकेलेको आरोप पनि अाेलीले लगाए ।