सार्कका लागि भित्रिए भाडाका गाडी

काठमाण्डु टुडे २०७१ मंसिर २ गते ९:४६ मा प्रकाशित

भैरहवा, २ मंसिर – नेपाल सरकारले आसन्न सार्क शिखर सम्मेलनलाई ध्यानमा राखी भारतबाट ३२ वटा साना सुविधायुक्त सवारीसाधन भाडामा ल्याएको छ ।

भारतबाट ल्याउने क्रममा सोमबार बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयमा आएका ती साना सवारी आज बिहान १० बजे  सुरक्षासहित काठमाडौँ प्रस्थान गरेका छन् ।

नेपाल प्रवेशसँगै सरकारी नम्बर प्लेट लगाएर बिएमडब्लु र मर्सिडिज कम्पनीका ती सवारीसाधन प्रहरीको सुरक्षामा काठमाडौँ पठाइएको छ । प्रहरीले भैरहवा भन्सार कार्यालयबाटै सुरक्षा दिएको छ ।

नेपाल सरकारको निर्णयअनुसार भारतीय पर्यटन बोर्ड (आइटिडिएल)अन्तर्गत नेपाल सरकारले ती सवारीसाधन भाडामा ल्याइएको परराष्ट्र मन्त्रालयका उपसचिव कृष्ण पन्थले बताए ।

सार्क सम्मेलनका समयमा प्रयोगमा ल्याइने ती गाडीमा सरकारी नम्बर प्लेट राख्ने निर्णय सरकारले गरिसकेको छ ।

दिल्लीस्थित नेपाली दूतावासका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रमान श्रेष्ठका अनुसार सम्मेलन सकिएलगतै डिसेम्बर २ तारिखका दिन बेलहिया नाका हुँदै ती सवारी भारततर्फ नै फर्काइने छ ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us