रास्वपाले गठन गर्याे तीन आयोग

काठमाण्डु टुडे २०८३ असार १७ गते १५:४४ मा प्रकाशित

काठमाण्डू, १७ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गरेको छ ।

महाधिवेशनपछि पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपाको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशनबाट अनुमोदन भएको विधान अनुसार पार्टीका तीन वटा आयोगहरू गठन गरिएको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिए ।

उनले निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना भङ्ग गरी यसअघि नै जिम्मेवारीमा रहेकाहरूलाई पुनः जिम्मेवारी दिइएको बताए । त्यस्तै अनुशासन आयोगको प्रमुखमा उच्च अदालत कास्कीका पूर्वन्यायाधीश समेत रहेका लेखनाथ पौडेललाई मनोनीत गरिएको महामन्त्री आचार्यले जानकारी दिका छन। बैठकमा अन्य पदाधिकारीको मनोनयनको विषयका कुनै छलफल नभएको उनले बताए ।

बाँकी पदाधिकारीको मनोनयन पार्टी सभापतिको विशेषाधिकार भएकाले, सभापतिको निर्देशन र तयारी अनुसार आगामी बैठकहरूबाट अघि बढ्ने उनको भनाइ छ ।

साथै बैठकले पहिलो महाधिवेशनलाई सफल पार्न सहयोग गर्ने तत्कालीन पदाधिकारी, प्रतिनिधि, सदस्य, सुरक्षाकर्मी लगायत सबैलाई धन्यवाद प्रस्ताव पारित गरेको महामन्त्री आचार्यले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us