काठमाण्डू, १७ असार– एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाइका लागि प्रस्तावित व्यक्तिको विवरण समितिमा मात्रै सीमित नराखी समयमै सार्वजनिक गर्नुपर्ने तर्क गरेकी छन ।
आज (बुधबार) संसदीय सुनुवाइ समितिको बैठकमा आगामी सुनुवाइ सम्बन्धी कार्यहरूको आन्तरिक तयारीबारे भएको छलफलमा एमालेकी सांसद अर्यालले यस्तो बताएकी हुन ।
उनले सुनुवाइ प्रक्रियामा पारदर्शिता बढाउन व्यक्तिको विवरण सार्वजनिक गर्दा सर्वसाधारणबाट थप सुझाव र प्रतिक्रिया प्राप्त हुने तथा प्रक्रिया विश्वसनीय बन्ने उपनेता अर्यालको भनाइ छ । संसदीय सुनुवाइ प्रक्रियालाई औपचारिकतामा मात्रै सीमित नराखी यसलाई जनविश्वास बढाउने प्रभावकारी संयन्त्रका रूपमा विकास गर्नुपर्ने पनि बताएकी छन ।
हालको सुनुवाइ प्रक्रियाले पर्याप्त जनविश्वास हासिल गर्न सकेको उल्लेख गर्दै उनले समितिले आफ्नो फरक पहिचान स्थापित गर्न अन्तर्राष्ट्रिय असल अभ्यासहरूको अध्ययन गर्दै कार्यप्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने बताइन् । विभिन्न देशका संसदीय सुनुवाइ अभ्यासबारे अध्ययन गरी विज्ञहरूको सहभागितामा समिति सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको प्रस्ताव छ ।
उनले बैठकमा भनिन्, ‘सुनुवाइलाई औपचारिकतामा सीमित राख्ने कि यसको फरक पहिचान गराउने भन्ने विषयमा हामीले राम्रो गरी छलफल गर्नुपर्छ । नत्र हामी कसरी अगाडि बढ्छौँ भन्ने त कार्यविधिले भनिसकेको छ, धेरै कुरा बोल्नुपर्ने छैन ।
अब अन्तर्राष्ट्रिय र हाम्रा असल अभ्यासहरूलाई हामीले अनुशरण गर्नेगरी, सिकाईका रूपमा अगाडि बढाउनेगरी हाम्रा संसदीय सुनुवाइ समितिहरूको छलफल कसरी चल्छ, गतिविधि कसरी अगाडि बढ्छ, सिफारिस कुन ढङ्गले हुन्छ भन्ने सन्दर्भमा विज्ञहरूलाई राखेर एउटा समितिलाई ओरिएन्टेसन तालिम वा अभिमुखीकरण तालिम सञ्चालन गरौँ ।’