खराब मौसमका कारण भारतीय हेलिकप्टर नेपाली आकाशमा छिरेको हो, कुनै गलत मनसाय छैनः परराष्ट्रमन्त्री खनाल

काठमाण्डु टुडे २०८३ असार १७ गते १५:०३ मा प्रकाशित

काठमाण्डू, १७ असार– परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा नियोजित रूपमा नभई प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको बताएका छन ।

आज (बुधबार) संघीय संसद् राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री खनालले यसबारे जानकारी गराएका हुन । मन्त्री खनालले मौसम खराब भएपछि भारतीय हेलिकप्टर नेपालको दार्चुला जिल्लामा प्रवेश गर्न पुगेको र उक्त घटनामा भारतीय पक्षको कुनै नियोजित एवं गलत मनसाय नदेखिएको पनि बताएका छन ।

उनले भने, ‘दार्चुला जिल्लामा भारतीय हेलिकप्टर नियोजित एवं गलत मनसायले नेपालको भूभाग प्रवेश गरेको नदेखिएको र त्यस क्षेत्रको भौगोलिक अवस्थिति र मौसमको कारणले नेपाली भूभाग प्रवेश गरेको विषयमा नेपाली सम्बन्धित अधिकारीहरू र भारतीय पक्षबिच आवश्यक सम्पर्क र समन्वय भइरहेको छ ।’

यसैगरी मन्त्री खनालले नेपालको सुपारी निर्यातमा देखिएको समस्या समाधान गर्न पनि सरकारले पहल गरिरहेको जानकारी दिए ।

उनले आफूले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सफल भएको दाबी समेत सदनमा गरे । सरकारले भारतसँगको निर्यात व्यापारमा देखिएका समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us