काठमाण्डू, १७ असार– यातायात व्यवस्था विभागले गाडीभाडा घटाउने तयारी गरेको छ । नेपाल आयल निगमले आज (बुधबार) बिहानदेखि लागू हुनेगरी मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेसँगै विभागले नयाँ मूल्य अनुसार भाडादर समायोगन गर्ने तयारी गरेको हो ।
विभागका निर्देशक मणिराम भुसालले इन्धनको मूल्य घटेको आधारमा अन्तरप्रदेशमा चल्ने सवारी साधनको भाडादर आजै समायोजन गर्ने तयारी गरेको जानकारी दिएका छन ।
‘हामी नयाँ मूल्य अनुसार भाडादर समायोजन गर्दैछौं, आजै साँझसम्म सूचना जारी हुन सक्छ,’ भुसालले भने । इन्धनको मूल्य समायोजन भएसँगै भाडादर समेत तत्कालै समायोजन गर्नुपर्छ भन्नेमा व्यवसायी र उपभोक्ता सहमत देखिन्छन् । यद्यपि कति घटाउने भन्नेमा भने उनीहरुबीच एकमत छैन ।