काठमाण्डू, १७ असार– एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रम अन्तिम चरणमा पुग्दा प्रतिवेदन लेखनकार्य पनि शुरू भएको छ ।
पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल) संयोजकत्वको कार्यदलले अब १९ गतेसम्ममा तीनवटा समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रम सम्पन्न गर्दैछ ।
त्यसपछि परामर्शको चरण समाप्त हुने कार्यदलका एक सदस्यले जानकारी दिए । आज १७ गते सम्पर्क मञ्च, बिहीबार जनसंगठन र शुक्रबार केन्द्रीय आयोग र विभाग प्रमुखहरूसँग परामर्श गरेपछि क्रम अन्त्य हुने भएको हो ।
ती सदस्यका अनुसार हालसम्मका परामर्शका सुझाव एवं सिफारिसका आधारमा प्रतिवेदनको खेस्रा उतार्ने काम महासचिव शंकर पोखरेलको नेतृत्वमा शुरू भएको हो । असार २२ गते बस्ने कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिने भएको छ ।