संसद्‍मा लफडा, अमरेशको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाण्डु टुडे २०८२ असार ८ गते १२:४४ मा प्रकाशित

काठमाण्डू, ८ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहको अभिव्यक्तिमा नेकपा एमालेले आपत्ति जनाएको छ । बजेटमाथिको छलफलमा सांसद सिंहले शीर्ष नेताको चार जिल्लामा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाएका थिए । बाँकी जिल्ला नेपाल नै नरहेको जस्तो व्यवहार सरकारले गरेको भनेर सरकारलाइ प्रश्न गरे ।

सांसद अमरेशको अभिव्यक्तिमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आपत्ति जनाए । त्यसपति संसद्‍मा आरोप प्रत्यारोप चल्यो । बजेटमाथिको छलफलमा बोल्न रोष्ट्रम पुगेका सांसद सिंहले सुरुमै आफूलाई सत्तापक्षकै एक जना सांसदले बजेटमा सधैं किन बोलेको भनेर प्रश्न गरेको बताएका थिए ।

आगामी आर्थिक वर्षका लागि संसद्मा प्रस्तुत बजेटप्रति प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु खुसी रहेको उनले बताए । आ–आफ्नो निर्वाचन क्षेत्रमा अधिकतम बजेट हाल्न सकेकोमा उनीहरु खुसी भएको उनको टिप्पणी छ । ‘बजेटमा जसले मन्त्री बनाएको छ त्यो नेता खुसी छ कि छैन ? सत्तापक्षको प्रमुख घटकको सभापति खुसी छ कि छैन ?

उहाँको जिल्लामा बजेट गएको छ । बाँकी सांसद किन बोल्नुहुन्छ ?’ भनेर आफूलाई सत्तापक्षकै सांसदले भनेको र यस्तो भन्ने सांसद आइतबारकै सभामा रहेको स्वतन्त्र सांसद सिंहले बताए । त्यसपछि उनले सरकारले अनियमित तरिकाले बजेट विनियोजन गरेको भनेर आरोप लगाए ।

‘चार–पाँच जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं बाँकी ७२ जिल्ला लिजमा दिऔं अर्को देशलाई । अमेरिकालाई दिऔं, चाइनालाई दिऔं, भारतलाई दिऔं । ती जिल्लामा बजेट नै जाँदैन भने किन राख्ने रु खाली कर लिनलाई राख्ने रु’ सांसद सिंहले भने । काठमाण्डूका ३ करोडका दरले १३१ वटा योजना रहेको उनले बताए ।

तर, आफ्नो जिल्लामा ३०–३५ वटा योजना समेत नरहेको उनले बताए । आफूले काठमाण्डूले जति पाएको हो त्यति नै भाग चाहिन्छ भनेर नखोजेको तर, बजेट विनियोजन आवश्यकताका आधारमा हुन नसकेको उनको आरोप छ । बजेटलाई निजी सम्पति झैँ ठानेर वितरण गर्ने कार्य भएको भनेर सिंहले प्रश्न उठाए । कैलालीमा गेटा मेडिकल कलेज बनाउने भनेर आउँदा सबैले ताली बजाएको भन्दै उनले मधेशमा एउटा पनि मेडिकल कलेज किन नखोल्ने ? भनेर प्रश्न गरे ।

सांसद अमरेश बोलिरहँदा नेकपा एमालेका मुख्य सचेतक बर्तौलाले नियमापत्ति गरे । सांसद सिंहले आपत्तिजनक विषय राखेको भनेर सभामुखको ध्यानाकर्षण गरे । विनियोजन शीर्षकमा छलफल गर्दा नेपालको भूमिलाई अर्को देशलाई दिने भनेको र यो राष्ट्रघाती अभिव्यक्ति भएको बताए । सांसद सिंहले आफूले गाभ्ने नभनेर बजेट नपरेका जिल्लालाई लिजमा दिने भनेर व्यङ्ग्य गरेको प्रष्टीकरण दिन खोजे ।

एमालेका मुख्य सचेतक बर्तौलाले सांसद सिंहको अभिव्यक्ति आपत्तिजनक रहेको दोहोर्‍याउँदै संसदको रेकर्डबाट हटाउन माग गरे । सांसद सिंहले मुलुकको सार्वभौमिकताको विरुद्धमा, राष्ट्रिय अखण्डताको विरुद्धमा बोलेको बर्तौलाले बताए ।

सांसद सिंहमाथि कारबाही नै हुनुपर्ने माग उनले राखे । सभामुख घिमिरेले सांसद सिंहले पाँच वटा जिल्लाको नाम लिएर बाँकीलाई लिजमा दिए हुन्छ भनेर दिएको अभिव्यक्ति संसदीय रकर्डबाट हटाउन निर्देशन दिए । त्यसपछि बाँकी विषय राख्न सांसद सिंहलाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us