विद्या भण्डारी लक्षित ओलीको टिप्पणीः अब फलाना आउने अरे भन्ने हल्ला चलाउनेको प्रतिकार गर्नुपर्छ

काठमाण्डु टुडे २०८२ जेठ २५ गते १९:५५ मा प्रकाशित

??????

काठमाण्डू, २५ जेठ– प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी एमाले राजनीतिमा फर्कने उद्देश्यसहित सक्रिय रहेकोप्रति तीव्र असन्तुपष्ट जनाएका छन् ।

पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनलाई आइतबार राजधानीमा सम्बोधन गर्दै ओलीले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कन लागेको विषयमा मुख खोलेका हुन् । महाधिवेशनको मिति नै तय नभएको अवस्थामा अमुक व्यक्तिको नाममा गुटबन्दीमा सहभागी नहुन पार्टी पंक्तिलाई निर्देशन दिए ।

ओलीले फलाना आउने अरे भन्दै फिँजाइएका भ्रममा विश्वास नगर्न आग्रह गरे । एमालेमा नयाँ गुटकै जन्म भइसकेको प्रचार गरिएको उल्लेख गर्दै ओलीले गुटको खेती गर्नेहरुको प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन दिए । अ‍ोलीले नाम उल्लेख नगरी सांकेतिक रुपमा भण्डारीलाई पार्टी राजनीतिमा फर्काउने विषयमा कुनै छलफल नभएको बताए ।

बाहिर भ्रम फिँजाएर पार्टीलाई कमजोर बनाउने र पार्टी कार्यकताको मनस्थिति बिथोल्ने काम भइरहेको टिप्पणी गरे । त्यस्ता दुष्प्रयासलाईइन्कार गर्न पनि उनले निर्देशन दिए ।

‘अहिले हल्ला चलेको छ । तलतल यो ग्रुप भनेका छन् त्यो ग्रुप भनेका छन् । यो ग्रुप र त्यो ग्रुपको कुनै आवश्यकता छैन । यस्ता कुरालाई तपाईंहरुले सुन्नेबित्तिकै यस्ता कुरा नगर्नुस् भन्ने जवाफ दिइहाल्नुस् । फलानाका ग्रुप, यसका ग्रुप त्यो छोडिदिनुस्’, ओलीले भने, ‘अर्को खेल हुन खोजेको छ यहाँ अब फलाना आउने अरे, फलाना आउने अरे, यस्तोयस्तो । पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष ? अहिले महाधिवेशन घोषणै भएको छैन ।’

ओलीले सामाजिक सञ्जालमा भण्डारीलाई पार्टी अध्यक्ष बनाउने भन्दै जारी अभियानको पनि प्रतिकार गर्न भने ।

‘महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन । छलफल भएको छैन, अनि यो बाहिरबाहिरका हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने यस्ता दुष्प्रयासहरूलाई सोझै इन्कार गर्नुस् । यस्ता खालका कुरा नगर्न त्यस्ताहरुलाई जवाफ दिनुस् । स्टाटस, सिस्टाटसलाई पनि जवाफ दिए हुन्छ’, ओलीले भने ।

पूर्वराष्ट्रपति भण्डारीले आफू पार्टी राजनीतिमा फर्कने घोषणासहित देश दौडामा थालेकी छन् । एमाले नेता कार्यकर्तासँग उनी बाक्लो संवादमा छिन् । केही समयअघि उत्तर छिमेकी चीनको भ्रमणबाट फर्किएकी भण्डारी भारत भ्रमणमा जाने तयारीमा रहेको उनी निकट श्रोतहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us