
काठमाण्डू, २५ जेठ– प्रतिपक्षी दलहरुको अवरोधका कारण आइतबारको प्रतिनिधिसभा बैठक पनि कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ ।
संघीय संसद् भवन नयाँबानेश्वरमा निर्धारित समयभन्दा साढे ५ घण्टा ढिलो (साढे ६) बजे बैठक बसेको थियो । सभामुख देवराज घिमिरेले त्यसअघि सहमतिका लागि भन्दै दुईपटकसम्म संसद बैठकको समय सारेका थिए ।
विपक्षी दलहरुले भिजिट भिसाको आवरणमा हुने गरेको मानव तस्करी प्रकरण छानबिनको माग गर्दै लगातार संसद अवरुद्ध गर्दै आएका छन् ।
यद्यपि उनीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग भने छाडेका छन् । आइतबार पनि नियमितजस्तै विपक्षी दलका सांसदहरुले बैठक सुरू हुनासाथ उठेर विरोध जनाए ।
सभामुख घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन माग गरे पनि विपक्षी सांसदहरुले अस्वीकार गरे । घिमिरेले सोमबार २ बजे बस्ने गरी बैठक स्थगन गरे ।