
काठमाण्डू, २५ जेठ– नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी, पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल लगायत १८ जनाविरुद्ध विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारको मुद्धा दायर गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जानकारी दिएको छ । आरोपपत्रमा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसमेतलाई प्रतिवादी बनाइएको छ ।
पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दामा निलम्बन भएपछि २०८१ भदौमा सरकारले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो । टेलिकमको बिलिङ प्रणाली लगायतमा भ्रष्टाचार गरेको आरोपमा पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ ।