
काठमाण्डू, २५ जेठ– नेपालमा मनसुन भित्रिएको १० दिन भइसक्दा पनि कोशी प्रदेशबाट अन्यत्र विस्तारित हुन सकेको छैन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी प्रदेशका धेरै भू–भागमा मनसुनी वायुको प्रभाव छ । यद्यपि, देशका पश्चिम र मध्य भू–भागमा पश्चिमी र स्थानीय वायुहरूको प्रभाव अझै प्रबल छ ।
आइतबार बिहान कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ । आइतबार दिउँसो कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य भू–भागमा प्रायः मौसम सफा रहने सम्भावना छ ।
यसैगरी, कोशी प्रदेशका केही स्थानहरू र मधेश प्रदेशको पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षा, साथै मेघगर्जन र चट्याङको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा रातभर हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
आइतबार राति, कोशी प्रदेश र अन्य पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रहरूमा मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ ।