
काठमाण्डू, २४ जेठ– काँग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै ‘मुखले मात्र भ्रष्टाचार गर्दिन’ भनेर मात्र नहुने अभिव्यक्ति दिएका छन् ।
काँग्रेसको सिन्धुली–काठमाण्डू सम्पर्क समितिको प्रथम सम्मेलनलाई शनिबार सम्बोधन गर्दै कोइरालाले भ्रष्टाचार अनत्य गर्न कसैले नरोकेको उल्लेख गरे । ‘म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न’ भन्ने भनाइलाई प्रधानमन्त्री ओलीले थेगो नै बनाएका छन् ।
कोइरालाले भ्रष्टाचार रोक्न र जनतालाई डेलिभरी दिन सरकार चुकुको आरोप लगाए ।
‘भ्रष्टाचार अन्त्य गर्न सरकार निर्मम हुन जरुरी छ । भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न मात्रै भनेर हुँदैन । त्यो देखिनुपर्य ो’, उनले भने ।
कोइरालाले भ्रष्टाचार प्रकरणमा सत्ता र प्रतिपक्षमाथि फरक व्यवहार भएको स्वीकार गरे । सरकारले प्रतिपक्षीमाथि प्रतिशोधको भावना राखेको उनको भनाइ थियो ।
उनको संकेत पछिल्लो समय पतञ्जली प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेकातर्फ थियो ।
‘प्रतिशोधको भावना लिएर मात्रै हुँदैन । कसैलाई गर्ने कसैलाई नगर्ने भन्ने हुँदैन । यहाँ प्रतिशोधको भावना देखिरहेको छु’, कोइरालाले भने ।
कोइरालाले भ्रष्टाचार अन्त्य गरेर सुशासन ल्याउन र जनताको पक्षमा डेलिभरी दिन कसैले नरोके पनि सरकारले काम नगरेको टिप्पणी गरे । ‘भ्रष्टाचार अन्त्य गरेर सुशासन ल्याउन सकिँदैन ? कसले रोकेको छ ? डेलिभरी दिन सकिँदैन ? कसले रोकेको छ ?’, उनको प्रश्न थियो ।