
काठमाण्डू, २४ जेठ– सरकारले आगामी आर्थिक वर्षको बजेटमा आफ्नो कार्यालय बनाउन तीन करोड रुपैयाँ विनियोजन गरेको भन्दै धन्यवाद दिएको काँग्रेसनि कट त रुण दलले व्यापक विरोधपछि कुरा फेरेको छ ।
तरुण दल अध्यक्ष विद्वान गुरुङले अर्को विज्ञप्ति जारी गर्दै आफ्नो संगठनको भवन बनाउन नभई ‘गणेशमान सिंह स्मृति भवन’ निर्माण गर्न तीन करोड विनियोजन भएको प्रस्टीकरण दिएका छन् ।
यसअघि उनले विज्ञप्ति जारी गर्दै गणेशमान स्मृति भवनको नाममा तरुण दलको कार्यालय बनाउन तीन करोड विनियोजन गर्न विशेष पहल गरेको भन्दै सभापति शेरबहादुर देउवा र सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई धन्यवाद दिएका थिए ।
पार्टीको भातृ संस्थाको भवन बनाउन राज्य कोषको दुरुपयोग गरिएको भन्दै सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भएको थियो । ‘युवाहरूको सशक्तीकरण, क्षमता विकास र सीपयुक्त तालिम सञ्चालनसहित नेतृत्व विकासका लागि सो भवनले योगदान पुग्ने विश्वास लिएका छौं’, गुरुङले विज्ञप्तिमा भनेका छन्, ‘युवाहरूको हकहित, क्षमता विकास र प्रतिभा प्रवर्द्धनका लागि तरुण दलको आग्रहमा भवनका लागि बजेट विनियोजन भएको विषयलाई अन्यथा ढंगबाट गलत प्रचार नगरिदिनुहुन अनुरोध गर्दछौं ।’
पछिल्लो विज्ञप्तिमा भने गुरुङले बजेट विनियोजनका लागि पहल गरेको भन्दै सभापति देउवालाई धन्यवाद दिएका छैनन् । तर, सहरी विकासमन्त्री सिंहलाई भने धन्यवाद भनेका छन् ।