
काठमाण्डू, २४ जेठ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरु आत्तिएको बताएका हुन् ।
‘हाम्रो पार्टीको भूमिकालाई देखेर कतिपय व्यक्तिहरु आत्तिएका छन् । आतंकित भएका छन् । पूर्वाग्रह राखेर बसेका छन् । बदलाको भावनाले उनीहरुलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरण भर्खरै तपाईंहरुले सुन्नुभयो, म माथि भ्रष्टाचारको मुद्दा लगाउनको लागि पहल भएको छ’, उनले भने ।
आफूले कसैसँग एक रुपैयाँ घुस लिएको अनुचित काम गरेको, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको पनि उनले बताए ।
ुनिजी स्वार्थबाट कुनै काम भएको छैन भने, आफ्नो फाइदा र लाभको लागि कुनै काम गरेको छैन भने आत्तिनुपर्ने आवश्यकता छैन । सबै गलत कुरा, आरोपको विरुद्धमा दृढताका साथ उभिनेछु । मलाई विश्वास छ, न्यायपालिकाले न्याय दिनेछ । न्यायको जित हुनेछ । न्यायको जित हुनुपर्दछ । अन्यायको हार हुनुपर्छ। न्यायालयमाथि विश्वास राखेर नै हामी सबै देशमा कानूनको शासनलाई अघि बढाउन चाहिरहेका छौँ । यो चुनौति आइलागेको छ, यो चुनौतिको सामना गर्ने हो । कोही मानिसहरु मैदान छोडेर चुनौती देखेपछि भाग्छन्, आत्तिन्छन्, हामीले मैदान छोड्ने होइन,’ उनले भने ।
न्यूज एजेन्सी नेपालबाट