
काठमाण्डू, २४ जेठ– सरकारले काँग्रेस भातृ संगठन नेपाल तरुण दलको कार्यालय भवन निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको खुसाला भएको छ ।
सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा संघको भवन निर्माणका लागि तीन करोड विनियोजन गरेको हो ।
सभापति शेरबहादुर देउवाको पहलमा मन्त्रालयले तीन करोड रुपैयाँ दिएको भन्दै तरुण दल अध्यक्ष विद्वान गुरुङले धन्यवाद दिएका छन् ।
‘काठमाण्डू महानगरपालिका वडा नम्बर–१३ स्थित रवि भवनमा नेपाल तरुण दलको भवन निर्माणार्थ ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा नेपाल सरकार सहरी विकास मन्त्रालयबाट यस आर्थिक वर्षमा बहुवर्षीय योजनाअन्तर्गत रुपैयाँ तीन करोड विनियोजन भएको जानकारी गराउँदछौं’, गुरुङले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उक्त भवन निर्माणका लागि बजेट विनियोजन गर्न विशेष पहल गरिदिनुहुने नेपाली काँग्रेस पार्टी सभापति सम्मानित पूर्वप्रधानमन्त्री श्रद्धेय नेता आदरणीय शेरबहादुर देउवाज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।’
उनले बजेट विनियोजन गर्न सहयोग गरेकामा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई पनि धन्यवाद दिएका छन् ।