पोखरीमा डुबेर दुई बालकको मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ २४ गते १४:२७ मा प्रकाशित

झापा, २४ जेठ– झापाको अर्जुनधारा नगरपालिका–११ स्थित सामुदायिक वन क्षेत्रभित्रको पोखरीमा शनिबार बिहान पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।

घटना शनिबार बिहान करिब ८ बजे दिमदिमे नामक पोखरीमा भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ छन् ।

महसुस तेह्रथुमको जिरीखिम्तीबाट पाहुना आएका भने सुजल सोही नगरपालिका निवासी मुना गुरुङका छोरा हुन् ।

स्थानीयका अनुसार दुबै बालक पोखरीमा पौडी खेल्ने क्रममा डुबेका थिए । डुबिरहेको अवस्थामा देखेपछि उनीहरूलाई तत्काल उद्धार गरी नजिकैको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्याइएको थियो ।

अस्पताल पुर्याएको केहीबेरमा दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

झापा प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us