
काठमाण्डू, २३ जेठ– गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको बताएका छन । आज (शुक्रबार) सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखेले यस्तो बताएका हुन ।
विभिन्न मन्त्रालयहरूमा राय, परामर्शहरूका लागि पनि विधेयक गइसकेको र सरकारले चाँडै मन्त्रीपरिषद्को सहमतिका साथ सदनमा लैजाने पनि बताएका छन । उनले नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो टुंग्याउन आग्रह समेत गरेका छन । उनले भने, ‘यो विधेयकलाई चाँडो पास गरौँ ।
जेजे गर्ने हो गरौँ तर चाँडो पास गरौँ । किनभने पीडा छ । गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै विधेयक छ, बेग्लै ऐन छ, यो ऐनले सम्बोधन गर्दैन ।’ गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै विधेयक आवश्यक रहेको पनि बताएका छन ।
गैरआवासीय नेपाली नागरिकता दिँदा संविधानको भावनाअनुसार राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको नागिरकता दिइने बताए । नागरिकता विधेयक टुंगिएसँगै विभिन्न पीडामा रहेका नागरिकहरुको समस्या समाधान हुने उनको तर्क छ ।
उनले भने, ‘सबै खालका नागरिकता जिल्लाले दिइरहेको छ भने नेपाली आमाबाट जन्म भइ नेपालमा नै स्थायी बसोवास गरेको बाबुको ठेगाना नभएको वा बेपत्ता भएको अथवा सहयोग नगरेको मानिसलाई किन मन्त्रालयले दिने ?, ‘अरु सबै नागरिकता जिल्लाले दिने, त्यो चाहीँ मन्त्रालयले दिने भन्ने हुँदैन, यसलाई जिल्लामा पठाउनुपर्छ ।
यसलाई जिल्लामा पठाउनुपर्छ भन्ने कुरामा म स्पष्ट छु ।’ नियमावली संशोधन गर्नेकुरामा पनि सरकार अघि बढेको गृहमन्त्री लेखकले बताए । उनले भने, ‘गैरआवासीय नेपाली नागरिकता दिँदा राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको जुन संविधानको भावना छ, त्यो अनुसार गैरआवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको छ ।’
नेपाली आमाबाट जन्म भइ नेपालमा नै स्थायी बसोवास गरेको बाबुको ठेगाना नभएको वा बेपत्ता भएको अथवा सहयोग नगरेको मानिसलाई पनि जिल्लाबाटै नागरिकता दिने व्यवस्था गरिने पनि बताएका छन ।