अधिकार दुरुपयोग भएको विषयमा अख्तियारको छानबिनलाई आश्चर्य नमानौंः सरकारका प्रवक्ता

काठमाण्डु टुडे २०८२ जेठ २३ गते १३:१० मा प्रकाशित

काठमाण्डू, २३ जेठ– सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अधिकार दुरुपयोग गरिएका कुनै पनि विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नु आश्चर्यजनक नभएको बताएका छन ।

आज (शुक्रबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सूचना तथा सञ्चार प्रविधिमन्त्री गुरुङले यस्तो बताएका हुन । उनले अख्तियारले छानबिन गरेर मुद्दा अभियोजन गरेको विषयमा टिप्पणी गर्नु उचित नभएको उनले बताएका छन ।

उनले भने, ‘अधिकार दुरुपयोग गरिएका कुनै पनि घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नु अनौठो होइन ।’ पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध बिहीबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

त्यसको भोलिपल्ट सूचना तथा सञ्चार प्रविधिमन्त्री गुरुङको यस्तो भनाइ आएको हो । फरक प्रसंगमा उनले संसद्को गतिरोध चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन । गतिरोध अन्त्य भएर चालु अधिवेशनबाटै निजामती कर्मचारी ऐन र शिक्षा ऐन जारी हुने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us