
काठमाण्डू, २३ जेठ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले कुनै भ्रष्टाचार नगरेको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा प्रकरणमा मुद्धा दायर गरेपछि त्यसबारे धारणा तय गर्न बिहीबार साँझ पार्टी कार्यालय आलोकनगरमा बसेको शीर्ष नेताहरुको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफूले गल्ती नगरेकाले नडराउने बताए ।
नेपालले अब कसरी अगाडि जाने भन्नेबारे कानूनविदहरुसँग परामर्श गरिएको. उल्लेख गरे । ‘नबिराउनू, नडराउनू । अरु कुरा कानुनी कुरा छन् । कानुनविद्हरूसँग परामर्श भएको छ’, नेपालले भने । अध्यक्ष नेपालले आफूविरुद्ध प्रतिशोधपूर्ण र पूर्वाग्राही ढंगबाट मुद्दा दायर भएको दाबी गरे ।
अख्तियारले विशेष अदालतमा मुद्धा दायर गर्दा गृहजिल्ला रौतहटमा रहेका नेपाले तत्काल काठमाण्डू फर्किएर शीर्ष नेताहरूसहित कानुनविद्हरूसँग बैठक राखेका हुन् ।
एकीकृत समाजवादीले अध्यक्ष नेपालविरुद्ध मुद्धा दायर गरिएको घटनालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ ।