राजावादीको बैठकमा माइक खोसाखोस, बाहिरिए शीर्ष नेता

काठमाण्डु टुडे २०८२ जेठ २१ गते १७:१२ मा प्रकाशित

काठमाण्डू, २१ जेठ– वर्तमान व्यवस्था विरोधी राजावादीहरुको समूह ‘संयुक्त जनआन्दोलन समिति’को आज (बुधबार) को बैठकमा सहभागीबिच माइक खोसाखोस भएको छ ।

बोल्ने क्रममा एकापसमा माइक खोसाखोस भएपछि राजधानीको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठक प्रभावित भएको थियो । बुधबारको बैठकमा सहभागी राप्रपाका एक नेताका अनुसार ४४ राजावादी तथा हिन्दुवादी संघ संगठनका प्रतिनिधिसहितको बैठक भएकाले सहभागी खचाखच रहेका थिए ।

बैठकमा सहभागी धेरै भएको तर, बोल्न सबैलाई उपलब्ध नभएपछि उनीहरूले बोल्न समय माग गर्दै माइक खोसाखोस गर्न थालेपछि अवस्था असहज बनेको स्रोतले जानकारी दिएको छ ।

जसका कारण दोस्रो चरणको आन्दोलन तय गर्ने भनिएको बैठकले कुनै ठोस निर्णय गर्न सकेन । बैठक असहज बनेसँगै राजावादी समूहका शीर्ष नेताहरू बैठक हलबाट बाहिरिएका छन् ।

अब सीमित नेताहरू कुनै ठाउँमा बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने ती नेताको भनाइ छ । बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भने सहभागि भएका थिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us