काठमाण्डू, २१ जेठ– पोखरामा विद्यार्थी सवार बसमा आक्रमण हुदाँ पाँच विद्यार्थी घाइते भएका छन् । बसमाथि ढुंगा हानेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरूमा चितवन घर भई बस चालकको काम गर्ने ४८ वर्षीय तिलकबहादुर थापा मगर, बारा घर भएका बसमा सहचालकको काम गर्ने ३० वर्षीय मानप्रसाद खरेल र गोर्खाको पालुङटार घर भई ग्यारेजमा काम गर्ने २८ वर्षीय राजेश मरहट्टा रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेर आज सार्वजनिक गरेको हो । उनीहरूले १८ जेठको राति साढे ११ बजेतिर पोखराको चाउचेमा बा १ प ९१६ नम्बरको बसमाथि ढुंगा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले जानकारी दिएका छन ।
उक्त नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी बालकुमारी ललितपुरका विद्यार्थी बोकेर भ्रमणका लागि पोखरा गएको थियो । पोखराबाट काठमाण्डू फर्कने क्रममा विद्यार्थी सवार बसमाथि उनीहरूले ढुंगा प्रहार गरेका थिए ।
पक्राउ परेकाहरू विरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रवको कसुरमा ६ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।