
काठमाण्डू, २० जेठ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको दाबी गरेका छन । आज (सोमबार) राति सरकार र यातायात व्यवसायीहरूबीच भएको सहमतिअनुसार यातायात सञ्चालन नगरेर गल्ती गरेको भौतिकमन्त्री दाहालको तर्क छ ।
उनले यातायात व्यवसायीहरूले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र गएपछि मात्रै यातायात सञ्चालन हुन्छ भन्ने जस्ता तर्कहरू गर्नु गलत भएको पनि बताएका छन । मन्त्री दाहालले सरकारले प्रदेशको अधिकार हनन हुनेगरी सम्झौता नगरेको पनि बताएका छन ।
उनले भने, ‘हामीले प्रदेशको अधिकारको हनन हुने खालको सम्झौता गरेका छैनौँ, ‘केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पुर्याएका छौं जसमा ती कुराहरू सम्बोधन गर्ने हाम्रो तयारी छ ।‘ संघले कानुन बनाएपछि मात्र प्रदेशले कानुन बनाउँदा सहज हुने उनले तर्क गरे ।
‘संघको कानून अघि आएपछि मात्रै तलका प्रदेशहरूले कानून बनायो भने सहज हुन्छ भन्ने हिसाबले अहिलेलाई स्थगित राखिदिनुस्,’ उनले भने, ‘त्यो विषय भनेर अनुरोध गरेका हौँ ।‘ राइड शेयरिङलाई कसरी अगाडि बढाउने भन्ने बारे काम भइरहेको उनले बताए । ‘राइड शेयरिङलाई व्यवस्थित गर्ने काम भइरहेको छ, जनताले सुविधा पनि पाइरहेका छन् ।
तर त्यसलाई नियमन त गर्नुपर्छ, राज्यको दायरामा त ल्याउनुपर्यो,’ उनले भने । मन्त्री दाहालले सरकारले यसबारे कानुन र नियमावली बनाउन सरकार लागिरहेको बताए ।
‘त्यसलाई पनि संघीय कानूनमार्फत नै व्यवस्थित गरौँ भनेर हामीले भनेको हो,’ उनले भने । नेपालमा निजी क्षेत्रले मात्रै सार्वजनिक याताया त सञ्चालन गरेकोले उनीहरू जिम्मेवार हुनुपर्ने बताए ।