
काठमाण्डू, २० जेठ– नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले आफ्नो पदबाट राजीनामा दिएका छन । साहले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएको माओवादी स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार उनलाई राजीनामा पत्र बुझाउन प्रचण्डले नै निर्देशन दिएका थिए । साहलाई दलको नेताबाट हटाउन बहुमत सांसदले दबाब दिंदै आएका थिए । मधेशमा माओवादीका ९ जना सांसद रहेका छन् ।
प्रदेशका सांसदले दबाब दिए पनि साहले भने अध्यक्ष प्रचण्ड र उपमहासचिव तथा मधेश प्रदेश ईन्चार्ज मातृकाप्रसाद यादवको साथ पाएकाले राजीनामा नदिने अडानमै थिए ।
तर, केही समयअघि पार्टीप्रति आघात पुग्ने काम गरेको उजुरी अध्यक्ष प्रचण्डसमक्ष परेको थियो । त्यसपछि अध्यक्ष प्रचण्डले नै दलको नेताबाट राजीनामा दिन निर्देशन दिएको स्रातले जानकारी दिएको छ ।