
काठमाण्डू, १९ जेठ– प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने दोहो¥याएका छन् ।
एमाले संसदीय दल बैठकमा सोमबार ओलीले विपक्षीले नचाहिँदो ढंगले गृहमन्त्रीको राजीनामा मागेर मुलुक विकासको गतिलाई रोक्न खोजेको आरोप लगाए ।
भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीलाई बुझ्नका लागि पक्राउ गर्दैमा मन्त्रीले राजीनामा दिन नसक्ने उनको स्पष्टोक्ति थियो ।
ओलीले आरोपी कर्मचारीसँग बयानसमेत नलिइएको अवस्थामा अघि सारिएको गृहमन्त्रीको राजीनाको माग औचित्यहीन रहेको बताए ।
‘केही तथ्य, केही प्रमाणले गृहमन्त्रीलाई छोएको छैन । केही भएको छैन । एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो अरे भनेका भरमा । के सोध्यो पनि थाहा छैन । बयान पनि लिएको छैन । रिस उठ्याछ गृहमन्त्रीदेखि’, ओलीले भने, ‘म भन्न चाहन्छु यस्ता नचाहिने कुरामा संसदको कारबाही रोकेर देशको विकासको गतिलाई अवरूद्ध गर्ने खालको काम, जनप्रतिनिधिहरूलाई निष्प्रभावी बनाउने काम, असफल बनाउने काम निरर्थक ढंगले । अहिले केही नपाएर गृहमन्त्रीको राजीनामा ।’
ओलीले सांसदहरुलाई संसद अवरुद्ध नहुने भन्दै मानसिक रुपमा तयार भएर रहन निर्देशन दिए । प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, रास्वपा, राप्रवा, एकीकृत समाजवादीलगायत दलले गृहमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्दै आएका छन् ।
उनीहरुले मंगलबारेको संसद बैठक पनि अवरुद्ध गर्ने तयारी गरेका छन् ।