प्रवासी नेपालीलाई बसेकै देशबाट मतदान गर्न पाउने व्यवस्था गरिनेछ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० वैशाख २ गते १४:४१ मा प्रकाशित

काठमाण्डु,२ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरूलाई आफैं बसेको देशबाट मताधिकार गर्न पाउने व्यवस्था गरिने बताएका छन ।

माओवादी केन्द्र प्रवास समन्वय समितिको शुक्रबार भएको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले भने,‘यसबाट लाखौं प्रवासी नेपालीहरू लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुपर्दैन’।

प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै वैदेशिक रोजगारीको सुधारका लागि सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताएका छन ।

प्रचण्डले भने, ‘वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले विदेशी मुद्रा सञ्चिती ११ महिनालाई पुग्ने संकलन हुनु आफैंमा अर्थतन्त्र सुधारको संकेत हो।’ उनले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आवद्धता श्रमिकको सुरक्षा भएको बताएका छन ।

उनले राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख्य सुधार भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री बनेपछि सार्वजनिक सहकारी र निजी क्षेत्रको समन्वयलाई अगाडि बढाउन र निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्ने बताएका छन ।

उनले भने, ‘संविधान निर्माण गर्ने र देशलाई अहिलेको अवस्थामा ल्याउने प्रमुख शक्ति माओवादी हो। हामीलाई विकासको गति पैदा गर्ने र रोजगारी ज्ञारेन्टी गर्ने चुनौति छ।

अर्थतन्त्रमा परेको अफ्ठ्यारो अहिलेको होइन, पहिलेदेखि नै हो’, ‘यसमा म आएपछि सुधार भइरहेको छ। नेपालको अर्थतन्त्रको समस्या समाधानका लागि तीन महिनामै सकारात्मक संकेत देखियो ।

संचिति बढेको छ। राजश्व संकलनमा उल्लेखित सुधार भएको छ। बैंकको ब्याजदरमा सुधार गर्न मेरो पहलमा ब्याज घट्ने क्रम सुरु भएको छ। निजी क्षेत्रका समस्या समाधानको पहल भएको छ। देशको एकतालाई सुदृढ गर्नेमा सरकार सक्षम छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us