
काठमाण्डु,२९ चैत– एमाले महासचिव शंकर पोखरेलले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताएका छन ।
आज (बुधवार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले संविधान नमान्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्दै आरोप लगाउनुको कुनै अर्थ नभएको बताएका छन ।
उनले सिंगो आन्दोलनलाई संविधानवादको जञ्जालभित्र राखेर व्याख्या गर्ने कामको कोशिस भइरहेको बताएका छन । उनले घोषित रुपमा संविधान नै नमान्ने पार्टीहरुसँगको सहकार्यले संसदीय मूल्य, मान्यतामाथि प्रहार गरिरहेको बताएका छन । उनले भने, ‘संविधान कुनै लकिरका फकिर होइन, त्यो बदल्न नमिल्ने चिज पनि होइन ।
सिंगो आन्दोलनलाई संविधानवादको जञ्जालभित्र राखेर व्याख्या गर्ने कामको कोशिस भएको छ । अहिले पनि नेताहरु त्यही व्याख्या गरिरहेका छन् । एमालेले संविधान मानेन भन्ने अर्थमा व्याख्या गरिरहनुभएको छ ।
संविधान नमान्ने थुप्रै पार्टीहरुसँग त उहाँहरु सहकार्य गरिरहनुभएको छ’ ‘यस्तो मान्यता स्थापना गर्ने कोशिस गरियो कि नेकपा एमालेले संविधान नै मानेन भन्ने अर्थमा संविधान नमान्नु भनेको प्रतिक्रान्ति हो भन्ने अर्थमा व्याख्या गर्ने कोशिस भयो ।
क्रान्तिकारीका लागि संविधान भनेको नै अघि बढ्नका लागि सह्य हुन्छ भने मान्ने हो, सैह्य हुँदैन भने बदल्ने हो ।’ उनले जनताको जनादेश खण्डित भएपछि फेरि जनतामा जानुपर्छ भन्ने लोकतन्त्रको विशेषता रहेपनि त्यसमाथि नै प्रहार भएको बताएका छन ।
महासचिव पोखरेलले नेपालको राजनीतिमा मुख्य दलहरु भनेको नेकपा एमाले र नेपाली कांग्रेस मात्रै रहेको दाबी गर्दै सम्पूर्ण वामपन्थी शक्ति भनेकै नेकपा एमाले रहेको बताएका छन ।