ढाका कुमारलाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस

काठमाण्डु टुडे २०७९ चैत २९ गते १३:३४ मा प्रकाशित

काठमाण्डु,२९ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले सांसद ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद नरहने गरी कारबाही गर्न सिफारिस गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नका लागि भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठमाथि आन्तरिक छानबिन सुरु भएको थियो।

पार्टीको अनुशासन समितिले श्रेष्ठलाई स्पष्टीकरण सोध्नुका साथै अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । श्रेष्ठले पार्टी र जनतालाई धोका दिएको निष्कर्ष निकाल्दै उनलाई तत्काल प्रतिनिधि सभा सदस्य पदबाट हटाउन सिफारिस गरिएकोअधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिएका छन ।

उनलाई पदमा राखिरहँदा भ्रष्टाचारमा संरक्षण गरेको देखिने भएकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न पनि सिफारिस गरिएको छ ।

अनुशासन समितिलाई पेस गरेको बयानमा श्रेष्ठले प्रसाईंसँग टेलिफोन वार्ता गरेर २ करोड रुपैयाँ मागेको भनिएको अडियोको आवाज आफ्नो नभएको दाबी थिए।

अडियोको आवाज आफ्नो नभएको जिकिर गरे पनि श्रेष्ठले उक्त अडियो आफ्नो हैन भन्ने अन्य आधार पेस नगरेकाले उक्त आवाज श्रेष्ठको ‘हैन भन्न नसकिने’ निष्कर्ष समितिले निकालेको छ।

रास्वपाको अनुशासन तथा आचरण समितिको संयोजक भरतमणि देवकोटा, सदस्यमा अधिवक्ता यज्ञमणि न्यौपाने, रमाकान्त रिमाल र रामहरि सुवेदी रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us