
कठमाण्डु, ६ असार । विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच छलफलबाट भोलिदेखि सुरू हुने पार्टी सचिवालय बैठकको एजेन्डा तय भएको छ । पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंगो लगाउने विषयमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको हो ।
छलफल शुक्रबार दिउँसो दुई घन्टासम्म चलेको थियो । भोलिदेखि सुरू हुने सचिवालय बैठकले सबैभन्दा पहिले पार्टीको राजनीतिक प्रतिवेदन पारित गर्ने र त्यसपछि पार्टीको सांगठनिक एकता र कार्यविभाजन गर्न तयारी भइरहेको बालुवाटार स्रोतले बताएको छ।
पार्टीको सिद्धान्त बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई संयोजन गरेर जनताको जनवाद बनाउने भन्ने कुरामै एकीकृत पार्टीका नेताहरूको मत बाझिएपछि पहिले राजनीतिक दस्तावेज सार्वजनिक गर्नु पर्नेमा अध्यक्ष प्रचण्डको जोड थियो। प्रतिवेदन सार्वजनिक गरेपछि कार्यविभाजनको मापदण्डमा नेताहरूबीच देखिएको मतभेदलाई सम्बोधन गर्ने सहमति पनि उनीहरूबीच भएको बताइएको छ।
केन्द्रीय तथा जिल्ला तहका नेताहरुको कार्यविभाजनमा दोहोरो जिम्मेवारी दिने या नदिने भन्नेमा अध्यक्ष ओली र सचिवालय सदस्य माधवकुमार नेपालबीच मतभेद छ।