
काठमाण्डू, २५ जेठ– प्रतिनिधि सभाको बैठक चल्न नसकिरहेका बेला प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरूबीच संसद भवनमै छलफलमा जुटेका छन ।
नयाँ बानेश्वरस्थित संसद् भवनमै दुई पार्टीका नेताहरू संवादमा जुटेका हुन् । छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्र कार्कीलगायत रहेका छन् ।
माओवादी केन्द्रका उपमहासचिवद्वय वर्षमान पुन, शक्तिबहादुर बस्नेत रहेका छन् । यसका अलावा प्रमुख सचेतक हितराज पाण्डे पनि निरन्तर संवादमा रहेका छन । गत शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयमले कांग्रेसका नेताहरू खड्का, कार्की, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायतसँग छलफल गरेका थिए ।
कांग्रेससँगको छलफलमा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे समेत सहभागी हुँदै आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले समेत कांग्रेसका नेताहरूसँग संवाद गर्दै आएका छन ।
माओवादी अध्यक्ष प्रचण्डले शनिबार कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै भेटेका थिए । देउवालई भेट्न प्रचण्ड उनकै निवास बुढानीलकण्ठ पुगेका थिए ।