
काठमाण्डू, २५ जेठ– सत्ता घटक दलहरुले विपक्षी दलहरूले असहयोग गरे पनि संसद्को कारबाही अघि बढाउने गरी तयारी सुरु गरेका छन । आज (आइतबार) संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यस्तो तयारी भएको जानकारी दिए ।
घिमिरेले संसदलाई अगाडि बढाउन प्रतिपक्षी सकारात्मक नभएको भन्दै प्रतिपक्षीले सहयोग गरेको खण्डमा छलफल सकारात्मक ढंगले अगाडि बढ्ने बताए । उनले भने, ‘आजबाट संसद सञ्चालनमा आउँछ ।
अपोजिसनबाट हामीले कुनैपनि निष्कर्ष र निर्णय हामीले पाएका छैनौँ, ‘उहाँहरूले सहयोग गरे राम्रैसँग सञ्चालनमा आउँछ । यदि उहाँहरूले अप्ठ्यारो गरेपनि केही असहज होला तर संसद अगाडि बढ्छ ।’
त्यस्तै, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पनि यसअघि जस्तो सूचना टाँस गरेर संसद् स्थगित गर्ने पक्षमा आफूहरू नरहेको प्रतिक्रिया दिएका छन ।
उनले भने, ‘प्रमुख प्रतिपक्षी दहलहरुले सहमतिको लागि बैठक स्थगित गर्न अपिल गर्नुहुन्थ्यो । हामीले त्यो हामीले मान्दै आयौँ,’ बर्तौलाले भने, ‘आजको बैठकमा चाँही हिजोको जस्तो सूचना टाँस गरेर स्थगित गर्ने हिजोको निरन्तरता हुँदैन ।’