अख्तियारले तामेलीमा राखेको मुद्धा ओलीले अगाडि बढाउन लगाएःभुसाल

काठमाण्डु टुडे २०८२ जेठ २४ गते १४:५९ मा प्रकाशित

रुपन्देही, २४ जेठ– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पतञ्जली प्रकरणमा आफ्ना अध्यक्ष माधवकुमार नेपाल निर्दोष रहेको दाबी गरेका छन् ।

रुपन्देहीको तिलोत्तमामा शनिबार आयोजित एक कार्यक्रममा भुसालले प्रधानमन्त्री केपी ओलीले बदला र प्रतिशोधको भावनाबाट प्रेरित भएर अख्तियार प्रयोग गरी नेपालविरुद्ध भ्रष्टाचार मुद्धा दायर गर्न लगाएको बताए ।

अख्तियार आफैंले यसअघि तामेलीमा राखिसकेको विषय ओलीले नै अगाडि बढाउन लगाएको दाबी उनको छ ।

ओली ०८४ सालसम्ममा आफ्ना विरोधी सकाउने अभियानमा लागेको टिप्पणी भुसालले गरे । ‘अख्तियारले तामेलीमा राखिसकेको विषयमा ओलीजीले बदला स्वरूप हाम्रो अध्यक्षमाथि मुद्दा दायर गर्न लगाउनुभयो’, भुसालले भने, ‘ओलीजी ०८४ सम्म आफ्ना विरोधीलाई सकाउन लाग्नुभएको छ ।’

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग पनि ओलीको प्रतिशोध साँधेको आरोप भुसालले लगाए ।

०८४ को निर्वाचनमा काँग्रेस र एमालेका मात्र उम्मेदवार रहने गरी निर्वाचन गराउने तयारी भए पनि त्यो अभियान सफल नहुने महासचिव भुसालले बताए ।

फरक प्रसंगमा उनले वर्तमान सरकारको असक्षमता र कुशासनका कारण राजावादीहरु सडकमा आएको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us