
काठमाण्डू, २३ जेठ– पश्चिम नवलपरासीको सुनवलमा एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२, अवरैयामा २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
हेमराजले बुबा जयराम थारूको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिएका छन ।
हत्याको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धान जारी रहेको र हेमराज थारूलाई नियन्त्रणमामा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखी सोधपुछ भइरहेको पौडेलले जानकारी दिएका छन ।