
काठमाण्डू, २२ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनीहरू विरुद्ध पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियारले बिहीबार मुद्दा दर्ता गरेको हो ।
आजै बिहान बारा पुगेका अध्यक्ष नेपालले अहिलेको सरकारलाई हटाउला भन्ने कल्पना कसैलाई नगर्न टिप्पणी गर्दै भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन सुझाव दिएका थिए । सिमरा विमानस्थलमा पत्रकारहरूसँग कुराकानी उनले भने, ‘यो सरकारले बुद्धि पुर्याओस्, देशको विकासको काममा ध्यान केन्द्रित गरोस्, भ्रष्टाचारलाई नियन्त्रण गरोस्, सुशासनको प्रत्याभूति गरोस् दूरगामी महत्वका परियोजनाहरूमा ध्यान दिओस् । देशको अर्थतन्त्रको आधार भनेको कृषि नै हो, त्यसैले कृषिजन्य तथा खानीजन्य उद्योगहरू, जलविद्युत्मा आकर्षित गरौँ ।’
नेपालले धेरै नेताहरूले सत्ताको लाभ मात्रै लिन थालेकोले जनतामा विकल्पको चाहना देखिएको टिप्पणी समेत गरेका थिए । उनले गृहमन्त्रीको राजीनामाको विषयमा संसद्मा कुरा उठ्ने बित्तिकै राजीनामा दिनुपर्ने भए झन्डै १२ वटा मन्त्रालयको विषयमा कुरा उठेकोले सबै मन्त्रीले राजीनामा दिनुपर्ने स्थिति आउन सक्ने बताएका थिए ।