
दाङ, २२ जेठ– दाङमा दुई किशोरबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका घर भई हाल तुलसीपुर उपमहानगरपालिका–८ दुधेनामा बस्दै आएका १५ वर्षीय बिराज गिरी छन् ।
गम्भीर घाइते गिरीको नेपालगन्जमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानामगरका अनुसार मृतक र स्थानीय १५ वर्षीय पज्ञ वलीबीच तीन दिनअघि विद्यालयबाट फर्किंदै गर्दा कुटाकुट भएको थियो । वलीलार्इंं प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
वलीले आफूले मृतकमाथि दुई मुक्का प्रहार गरेको बताएका छन् । वली र गिरी श्री माध्यमिक विद्यालय दोघरेमा कक्षा ९ मा अध्ययनरत थिए ।
प्रहरीले दुईबीच सामाजिक सञ्जाल फेसबुकबाट सुरु भएको झगडाले कुटाकुटको रुप लिएको बताएको छ ।