आफूले गरेको कामप्रति गर्व गर्नुस्, घमण्ड गर्ने होइनः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८२ जेठ २१ गते १९:०७ मा प्रकाशित

काठमाण्डू, २१ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पारिवारिक स्थिति तनावपूर्ण हुनेहरूले सामाजिक सञ्जालमा मुख छाड्ने गरेको बताएका छन । आज (बुधबार) आईडिया स्टुडियोले काठमाण्डूमा आयोजना गरेको नवप्रवर्तक युवासँग प्रधानमन्त्री अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले युवाहरूलाई तनावमुक्त भएर बस्न सुझाव समेत दिएका छन ।

उनले युवाले चित्त बुझाउन नहुने र परिवर्तनको लागि लाग्नुपर्नेमा जोड दिए । ‘तर चित्त नबुझाउने भनेको अरूलाई गाली गर्ने, केही नगर्ने, नकरात्मक ढंगले मात्रै चल्ने, त्यसले कसैलाई राम्रो गर्दैन,’ उनले भने । उनले भने, ‘यो फेसबुक–सेसबुकमा मुख छाडेर हिँड्नेहरूको पारिवारिक स्थिति तपाईँहरूले उनीहरूको परिवारभित्र के छ भनेर हेर्नुभयो भने टेन्सन हुन्छ ।’ उनका अनुसार सामाजिक सञ्जालमा मुख छाड्नु उनीहरूको आदत हो ।

‘किनभने त्यो आदत हो। त्यस बानीले गर्दा खेरी ऊ आफैं तनावमा हुन्छ,’ उनले भने । गाली गरेर हिंड्ने अभ्यासले व्यक्ति, परिवार र समाज कसैलाई पनि राम्रो नगर्ने तर्क गरे । उनले भने, ‘असन्तुष्ट हुँदा अरूलाई मुख छाडेर हिँड्ने, गाली गरेर हिँड्ने, काम केही नगर्ने, नकारात्मक ढंगले मात्रै चल्ने, त्यसले आफूलाई पनि राम्रो गर्दैन, आफ्नो स्वास्थ्य पनि राम्रो गर्दैन, पारिवारिक स्वास्थ्य पनि राम्रो गर्दैन, सामाजिक स्वास्थ्य पनि राम्रो गर्दैन ।’ उनले युवाहरूलाई केही काम गर्नासाथ घमण्ड नगर्न सुझाव दिए ।

‘आफूले गरेको कामप्रति गर्व गर्नुस्, घमण्ड गर्ने होइन,’ उनले भने । प्रधानमन्त्री ओलीले रोजगारीको समस्या समाधान गर्न उद्यमशीलता विकासको विकल्प नरहेको बताए । ‘उद्यमशीलताबाट रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । उद्यमशीलताको विकास गर्नुपर्छ । उद्यमशीलताको विकास नगरी रोजगारी अवसर कसरी आउँछ ?’ उनले प्रश्न गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us