जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छः सभापति देउवा

काठमाण्डु टुडे २०८२ जेठ २१ गते १८:५० मा प्रकाशित

काठमाण्डू, २१ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असरबाट नेपाल विश्वको तुलनामा सबैभन्दा बढी प्रभावित मध्येको मुलुक भएको बताएका छन । आज बुधबार साथसाथै संस्थाको कोइला ऊर्जाको प्रयोग बन्द गर्नुपर्ने अभियानसम्बन्धी ज्ञापनपत्र बुझ्दै सभापति देउवाले यस्तो बताएका हुन ।

नेपालले नगन्य मात्रामा कार्बन उत्सर्जन गरे पनि जलवायुका कारण प्राकृतिक विपद्का घटना बेहोर्नु परेको पनि उनले बताए । सभापति देउवाले यसको क्षतिपूर्तिका लागि विश्वव्यापी पहल आवश्यक रहेको पनि बताए । सभापति देउवाले विश्वव्यापी तापमान वृद्धिका कारण नेपालका हिमाल पग्लिने क्रम बढेको, अस्वभाविक मौसमले जनजीवनमा ठूलो प्रभाव परेको बताउँदै यस सम्बन्धमा विश्वको ध्यानाकर्षण गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले आफूले संयुक्त अधिराज्यको ग्लास्गोमा सन् २०२१ मा भएको कोप–२६ सम्मेलनमा नेपालका तर्फबाट सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै अब नेपालले विद्युतीय ऊर्जाको प्रयोग बढाउँदै जानुपर्ने धारणा व्यक्त गरे ।

सो अवसरमा साथसाथैका अध्यक्ष प्रजिता कार्कीले नेपालमा नवीकरणीय र स्वच्छ ऊर्जाको प्रयोग बढाएर कोइलाजस्ता जीवाष्म ऊर्जाको प्रयोग बन्द गर्न सबैको पहल आवश्यक रहेकामा जोड दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us